नेपाल धितोपत्र बोर्डले अन्तरदिवसीय कारोबार (Intraday Trading) सम्बन्धी नियमावलीको मस्यौदा तयार पारी राय सुझाव माग गरेको छ। बोर्डले पुँजीबजारमा कारोबारको गति, तरलता र मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले Intraday Trading सञ्चालनमा ल्याउन अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावलीको प्रारम्भिक मस्यौदा तयार पारेर सुझाव माग गरेको हो।
अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावली, २०८३ को प्रारम्भिक मस्यौदाका प्रमुख विशेषताहरु देहाय अनुसार रहेका छन्।
१. अन्तरदिवसीय धितोपत्र कारोबार सञ्चालनको लागि स्टक एक्सचेञ्ज र धितोपत्र दलाल व्यवसायीले बोर्डबाट स्वीकृति लिनुपर्ने,
२. मापदण्ड पूरा गरेका सूचीकृत धितोपत्र मात्र अन्तरदिवसीय कारोबारका लागि योग्य हुने,
३. धितोपत्र दलाल व्यवसायीले ग्राहकको पहिचान, वित्तीय क्षमता, जोखिम वहन क्षमता तथा उपयुक्तता मूल्याङ्कन गरेर मात्र अन्तरदिवसीय कारोबारको सुविधा उपलब्ध गराउनुपर्ने,
४. धितोपत्र दलाल व्यवसायीले अन्तरदिवसीय कारोबार सञ्चालन गर्नु अघि ग्राहकको आदेश, मार्जिन, जोखिम सीमा तथा अन्य आवश्यक शर्तहरूको परीक्षण गर्नुपर्ने,
५. धितोपत्र दलाल र धितोपत्र दलाल व्यवसायीले अन्तरदिवसीय कारोबार सञ्चालनका लागि आवश्यक प्रणाली, सुरक्षा व्यवस्था तथा वास्तविक समय जोखिम नियन्त्रण प्रणाली कायम गर्नुपर्ने,
६. लगानीकर्ताले अन्तरदिवसीय कारोबार अन्तर्गत धितोपत्र खरिद/बिक्री गरी कायम भएको खुला अबस्था (Open Position) सोही दिन धितोपत्र बिक्री/खरिद गरी खुला अबस्था बन्द (Square Off) गर्नुपर्ने। तोकिएको समयभित्र खुला अबस्था बन्द नभएमा स्वतः बन्द (Auto Square Off) हुने,
७. अन्तरदिवसीय धितोपत्र कारोबार गर्ने प्रत्येक ग्राहकले तोकिए बमोजिमको आवश्यक मार्जिन कायम राख्नुपर्ने, कारोबारको उतारचढाव अनुसार Variation Margin तोक्न सकिने,
८. प्रत्येक ग्राहक, धितोपत्र व्यवसायी, धितोपत्र तथा सम्पूर्ण बजारका लागि अधिकतम कारोबार सीमा (Exposure) निर्धारण गरिने,
९. प्रत्येक धितोपत्र दलाल व्यवसायीले जोखिम व्यवस्थापन प्रणाली, आन्तरिक नियन्त्रण प्रणाली तथा गुनासो व्यवस्थापन संयन्त्रको व्यबस्था गर्नुपर्ने,
१०. बोर्ड, धितोपत्र बजार तथा धितोपत्र दलाल व्यवसायीले अन्तरदिवसीय कारोबार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने,
११. बोर्डले अन्तरदिवसीय धितोपत्र कारोबार चरणबद्ध रूपमा लागू गर्न सक्ने।
अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावली, २०८३ को प्रारम्भिक मस्यौदामा मिति २०८३।०८।०४ भित्र सुझाव दिन बोर्डले सरोकारवाला सबैलाई अनुरोध गरेको छ।










