नेशनल लाइफ इन्स्योरेन्सले पाकिस्तानको हबिब बैंक लिमिटेडको नाममा रहेको हिमालयन बैंकको संस्थापक शेयर खरिद गर्न थालेको छ । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि हबिबले शेयर बेच्ने र नेशनल लाइफले शेयर खरिद गर्न प्रक्रिया सुरु भएको हो।
नेशनल लाइफले आज बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको अनलाइन ट्रेडिङ सिस्टमबाट म्याचिङ कारोबार गरेर शेयर खरिद गर्न थालेको हो। यो समाचार तयार पार्दासम्म नेशनल लाइफले १ करोड ४० लाख ६ हजार २ सय ३० कित्ता शेयर खरिद गरिसकेको छ। प्रति कित्ता ११८.८८ को दरले शेयर कारोबार भएको छ। यसो हुँदा कुल १ अर्ब ६६ करोड ५० लाख ६० हजार ६ सय ६२ रुपैयाँ ४० पैसाको कारोबार भएको छ।

नेशनल लाइफले हबिब बैंकले बिक्री गर्ने २ करोड ८० लाख १२ हजार ४ सय ४७ दशमलव ४५ कित्ता शेयर खरिद गर्ने छ । यस हिसाबमा नेशनल लाइफले अझै १ करोड ४० लाख ६ हजार २ सय १७ दशमलव ४५ कित्ता शेयर खरिद गर्ने छ । अर्थात् हालसम्म आधा शेयर मात्र खरिद बिक्री भएको छ।
पाकिस्तानको हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको सम्पूर्ण संस्थापक शेयर बिक्री गर्न सूचना जारी गरेको थियो । जसमा हाल विध्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने र पुरै शेयर खरिदको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो। हबिब बैंकले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ११२.८० रुपैयाँ कायम गरेकोमा नेशनल लाइफले सो भन्दा बढीमा सबै शेयर खरिद गर्ने गरि प्रस्ताव गरेको थियो ।
त्यसपछि राष्ट्र बैंक र बीमा प्राधिकरणको अन्तिम स्वीकृतिपछि हबिब बैंकको नाममा रहेको हिमालयन बैंकको शेयर बिक्री प्रक्रिया अघि बढेको हो। नेशनल लाइफले शेयर खरिद गरेसंगै हिमालयन बैंकको सबैभन्दा ठूलो शेयरधनीको रुपमा नेशनल लाइफ हुने छ ।
यस अघि हिमालयन रिइन्स्योरेन्सले पनि यी शेयर खरिद गर्ने निर्णय गरेको थियो । तर हिमालयन रिइन्स्योरेन्स हिमालयन बैंकको संस्थापक शेयरधनी नरहेकोले उसले पहिलो चरणमा आवेदन दिन पाएको थिएन । हिमालयन रिइन्स्योरेन्सको शेयर बिक्री दोस्रो चरणमा पुग्ने र आवेदन दिने तयारी गरेपनि पहिलो चरणमै शेयर खरिद बिक्रीको लागि आवेदन परेको हो ।












