एनआईसी एशिया क्यापिटलले आफ्नो दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना संचालनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज असार ३ गते क्यापिटललाई एनआईसी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम संचालनको लागि अनुमति प्रदान गरेको हो । यस योजनाको आकार १ अर्ब रहेको छ।
क्यापिटलले यस अघि नै एनआईसी एशिया डायनामिक डेट फण्ड नामको खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गरिरहेको छ । हाल संचालनमा रहेका खुलामुखी सामुहिक लगानी कोष योजना मध्ये हरेक वर्ष लाभांश दिनेमा एनआईसी एशिया क्यापिटलले संचालन गरेको एनआईसी एशिया डायनामिक डेट फण्ड मात्र रहेको छ।
एनआईसीको यो डेट फण्डले आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०८०/८१ सम्म हरेक वर्ष लाभांश दिएको छ। आर्थिक वर्ष २०७८/७९ मा बाहेक फण्डले हरेक वर्ष दोहोरो अंकको प्रतिफल दिएको छ। यस फण्डले आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा ६ प्रतिशत र त्यसपछिका दुई आर्थिक वर्षमा समान १०/१० प्रतिशत लाभांश दिएको छ। फण्डको ४ वर्षको औसत प्रतिफल ९ प्रतिशत रहेको छ ।
यस अघि डेट फण्ड संचालन गरिरहेको क्यापिटलले अब भने इक्विटीमा आधारित खुलामुखी योजना संचालन गर्न लागेको हो । यससंगै दुईवटा ओपन म्युचुअल फण्ड संचालन गर्ने पहिलो क्यापिटल एनआईसी एशिया बन्ने भएको छ ।