पछिल्लो समय शेयरको दोस्रो बजारमा आउन चाहने लगानीकर्ताको संख्या बढ्दो छ। विशेष गरि आईपीओ परेकाहरु आईपीओमा परेको शेयर बिक्री गर्नको लागि दोस्रो बजारमा आउँन खोज्ने गरेका छन् ।
तिनै लगानीकर्तालाई लक्षित गर्दै सामाजिक संजाल मार्फत विभिन्न व्यक्तिहरुले टिएमएस खोलिदिने अभियान नै चलाएका छन् । जसमा उनीहरुले टिएमएस खाता छिटो खोल्नु परेमा सम्पर्क गर्नु होला भन्ने खालका सन्देश सामाजिक संजालमा राखेका हुन्छन् । तर ति नयाँ लगानीकर्ताहरुले दोस्रोबजारमा कारोबार गर्नको आवश्यक पर्ने टिएमएस खाता खोल्नको लागि अपरिचित व्यक्तिहरुलाई आफ्नो व्यक्तिगत विवरण दिंदा उनीहरुलाई भविष्यमा समस्या पर्ने जोखिम बढेको छ।
टिएमएस खाता खोल्नको लागि नागरिकता, फोटो, हस्ताक्षर, औंठा छाप, तीन पुस्ते लगायतका विवरण आवश्यक पर्छन् । सामाजिक संजालमा अपरिचित व्यक्तिलाई टिएमएस खाता खोल्नको लागि यी विवरण दिँदा उनीहरुले टिएमएस खाता त् खोलिदेलान् तर भविष्यमा ठूलो समस्या पनि निम्त्याउन सक्छ।
कतिपयले सहयोगी भावनाले टिएमएस खोल्न सहजीकरण गरिदिएको हुनसक्छ। तर सामाजिक संजालमा भेटिने त्यस्ता सबै व्यक्तिहरुको नियत सफा हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । तपाईले आफ्नो औठा छाप सहितका सबै व्यक्तिगत विवरण उनीहरुलाई दिनु भए पछि उनीहरुले तपाईको नाममा कम्पनी दर्ता गर्न सक्छन् । त्यो कम्पनी मार्फत कर छली गर्ने, अपराध गर्ने, राजश्व छली गर्ने, विदेश पठाइ दिने प्रलोभनमा ठगी धन्दा चलाउने, अन्य प्रकारका ठगी गर्ने लगायतका कार्य पनि हुन सक्छन् । पछि सरकारका निकायले थाहा पाएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा तपाई फस्न सक्नु हुन्छ। किनभने कम्पनी तपाईको नाममा हुन्छ, तपाईको नाममा रहेको कम्पनीले गैर कानुनी काम गर्दा पक्राउ पर्ने व्यक्ति पनि तपाई नै पर्नु हुन्छ । अपराध गर्ने वास्तविक व्यक्तिहरु भने कागजी रुपमा कहिँ कतै पनि संलग्न देखिएका हुदैनन् ।
@businesspana TMS अरुलाई बनाउन दिँदा यसरी फसाउछन् ! #foryou #tmsaccount #nepse #businesspana #financialliteracy #sharemarketnepal ♬ original sound – Businesspana
यस्तै घटना विगतमा पनि भएका छन् । जागिरको आशामा बुझाएको नागरिकताले पर्साका उमाशंकर रायभरमाथि अर्ब बढीको कर छलीको मुद्दा दायर भएको थियो र उनी जेल परेका थिए। उनले जसलाई जागिर आशामा नागरिकता र अन्य विवरण बुझाएका थिए, ति व्यक्तिले उनको नाममा कम्पनी दर्ता गरेर कर छली गरेका रहेछन् । तर यसमा उमाशंकर फस्न पुगे। अहिले अरुको नाममा कम्पनी दर्ता गरेर विभिन्न आपराधिक क्रियाकलाप गर्ने क्रम पनि बढिरहेको छ।
यसरी नै अहिले टिएमएस खाताको लागि बुझाएको व्यक्तिगत विवरणले कसैले तपाईको नाममा कम्पनी दर्ता गरेर, त्यसबाट आपराधिक काम गरेर तपाईलाई फसाउन सक्छन् । त्यसकारण अपरिचित व्यक्तिलाई कुनै पनि कामको लागि आफ्नो व्यक्तिगत विवरण दिनु नै हुदैन ।
अनलाइन बाट नै सजिल्यै टिएमएस खाता खोल्न सकिन्छ, र खाता खोल्न कुनै शुल्क पनि लाग्दैन । खाता खोल्नको लागि ब्रोकरले सहजीकरण पनि गर्छन् । आफ्नो व्यक्तिगत विवरण दुरुपयोग नहोस् भन्ने ग्यारेन्टी हुनको लागि खाता खोल्न सहयोग आवश्यक परेमा शेयर ब्रोकरको मात्र सहयोग लिनु पर्छ।
यिनै कारणले टिएमएस खाता खोल्ने, एसआईपी खाता सुचारु गर्ने, डिम्याट खाता खोल्ने, वा अन्य कुनै पनि प्रयोजनको लागि आफ्नो व्यक्तिगत विवरण कुनै पनि अपरिचित व्यक्तिलाई दिनु हुदैन ।