नेपाल धितोपत्र बोर्डले बोर्ड अध्यक्षलाई जोडेर प्रकाशन भएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले आज एक विज्ञप्ति जारी गर्दै ति समाचार तथ्यहीन, आधार विहीन, कपोकल्पित र भ्रामक रहेको दाबी गरेको छ।
बोर्डको विज्ञप्तिमा भनिएको छ ‘हालै केही सञ्चार माध्यमहरू तथा सामाजिक सञ्जाल मार्फत नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई जोडेर तथ्यहीन, आधार विहीन, कपोकल्पित र भ्रामक आरोप लगाउँदै प्रकाशित समाचार प्रति यस बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ । पुँजीबजार क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रूपमा यस्ता प्रायोजित सामग्रीको सम्प्रेषणले नियामक निकायको छवि धूमिल पार्नुका साथै सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने कार्यलाई निरूत्साहित गर्ने उद्देश्य राखेको स्पष्ट देखिन्छ ।’
यदि कसैले बोर्ड अध्यक्षको नाम लिई कुनै पनि प्रकारको आर्थिक वा अन्य गैर कानुनी फाईदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराउन पनि बोर्डले आग्रह गरेको छ । विवरण पाएपछि आवश्यक कानुनी कारवाहीका लागि प्रकृया अगाडि बढाईने बोर्डले जनाएको छ।
विगत केही दिन यता आईपीओ निष्काशनको लागि अनुमति दिलाईदिने भन्दै बोर्ड अध्यक्षको नाम लिएर केही व्यक्तिले आईपीओ निष्काशनको लागि पाएपलाइनमा रहेका कम्पनीका संचालकहरुसँग कमिशन माग गरेको समाचार बाहिर आएका छन् । विशेषगरि हाइड्रो कम्पनीका संचालकसँग ७ प्रतिशतसम्म कमिशन माग गरिएको बताईएको छ। यसै बारे आज नै इप्पानले छलफल समेत गरेको छ।
यो पनि : आईपीओको लागि कमिशन मागिएपछि इप्पानले गर्यो छलफल, आन्दोलन गर्नेसम्मको तयारी