बुक विल्डिङ विधिबाट सर्वसाधारमा शेयर निष्काशनको अनुमति पाए लगत्तै वित्तीय विवरणमा प्रश्न उठाउँदै छानबिनको झण्झट खेपेको रिलायन्स स्पिनिङ्ग मिल्सले अन्ततः ‘क्लिन चिट’ पाएको छ । वित्तीय विवरणमा प्रश्न उठाउँदै संसदको सार्वजनिक लेखा समितिले आईपीओ रोक्का गर्न निर्देशन दिएपछि धितोपत्र बोर्डले रिलायन्सको आईपीओ सम्बन्धि प्रक्रिया रोकेको थियो ।
यस सम्बन्धमा उच्च अदालत पाटनमा परेको उजुरीबारे पनि उक्त अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिएर रिलायन्स स्पिनिङको आईपीओ निष्काशनको बाटो खोलिदिएको थियो । उच्च अदालत पाटनले गत असार २६ मा कारण देखाउ आदेश जारी गर्दै आईपीओ निष्काशन प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो । सो मुद्दामा साउन १४ गते भएको बहसपछि अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेको थियो ।
तर, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान बाँकी थियो । लेखा समितिले यसबारे अनुसन्धान गर्न सीआईबीलाई पठाएको थियो । तर, सीआईबीले पनि अनुसन्धानका क्रममा कुनै कैफियत फेला नपरेको भन्दै उजुरीलाई तामेलीमा राखेको छ ।
यस विषयमा सीआईबीले धितोपत्र बोर्डसँग आवश्यक विवरण माग गरेको थियो । बोर्डले साउन २४ गते सीआईबीलाई ४८ पृष्ठ लामो विवरण उपलब्ध गराएको थियो ।
‘धितोपत्र सम्बन्धी ऐन २०६३ र सो अन्तर्गत बनेको धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३, धितोपत्र निष्काशन तथा बाँडफांड निर्देशिका–२०७४ र बुक बिल्डिङ्ग निर्देशिका २०७७ अनुसार नै मूल्य निर्धारण गरिएको र कम्पनीको वित्तीय विवरण प्रमाणित गर्ने एसएआर एसोसीएट्सले रिलायन्सको २०८०–८१ को प्रथम त्रैमासको प्रतिशेयर आम्दानी ०.९६ पैसा र २०८०–८१ को प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा प्रक्षेपण गरेको र सो प्रक्षेपणमा धितोपत्र बोर्डमा पटक पटक अध्ययन अनुसन्धान भएको विषयलाई आधार मान्दा उक्त कम्पनीको वित्तीय प्रक्षेपण असम्भव वा बदनियतपूर्ण गरेको भन्न सकिने अवस्था नदेखिँदा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९७ बमोजिमको कसुर गरेको भन्न सकिने अवस्था नदेखिएको र वित्तीय विवरणमा कुनै पनि किसिमको कसुर नभएकाले सीआईबीले थप अनुसन्धान गरिरहन आवश्यक समेत देखिँदैन’ धितोपत्र बोर्डले सीआईबीलाई लेखेको पत्रमा भनिएको छ ।
बोर्डबाट यस्तो जवाफ र आवश्यक सबै कागजात प्राप्त भएपछि साउन ३२ गते सीआईबीले रिलायन्स स्पिनिङ्ग मिल्सविरुद्द परेको उजुरी तामेलीमा राखिएको जानकारी गराउँदै सेबोनलाई जवाफ पठाएको छ ।
अब रिलायन्स स्पिनिङ्ग मिल्सलाई आईपीओ निष्काशन गर्न बाटो खुलेको छ ।
यसअघि रिलायन्स स्पिनिङ्ग मिल्सले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सर्वसाधारणलाई आईपीओ निष्काशनको अनुमति माग गर्दै कम्पनीले गत माघ २३ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
यसअघि प्रक्रिया रोकिएको भएपनि अब कम्पनीले चाँडै सर्वसाधारणको लागि ११ लाख ५५ हजार ९ सय ६० कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयरको मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा कायम भइसकेको छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक छ ।
कम्पनीले यसअघि योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको शेयरको कट अफ मूल्य ९१२ रुपैयाँ कायम भएको थियो । सर्वसाधारण लगानीकर्तालाई शेयर निष्काशन गर्दा संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको शेयरको कट अफ मूल्यमा १० प्रतिशत छुट दिई निष्काशन गर्नुपर्ने व्यवस्था अनुसार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा कायम भएको हो ।
पवन गोल्यान रिलायन्स स्पिनिङ्ग मिल्सका कार्यकारी अध्यक्ष हुन् । शशिकान्त अग्रवाल कम्पनीका सञ्चालक हुन् भने अक्षय गोल्यान कम्पनीका प्रबन्ध सञ्चालक हुन् । कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा रहेको छ ।
कम्पनीले अन्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्न लगायत सिउने धागोहरु उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । २०५१ सालदेखि सञ्चालनमा रहेको यस कम्पनीले हाल ४ हजार ३ सय बढीलाई रोजगारी दिएको छ ।