हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले भदौ १५ गतेदेखि सामुहिक लगानी कोष योजना (म्युचुअल फण्ड) को इकाई बिक्री गर्ने भएको छ । कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत रहने गरि एचएलआई लार्ज क्याप फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको हो ।
यस योजनाको आकार ४ अर्ब रहेको छ र प्रति इकाई १० रुपैयाँको दरले ४० करोड इकाई रहेको छ। जस मध्ये ५० प्रतिशत अर्थात् २० करोड इकाई कोष प्रबर्दक हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई छुट्याएर बाँकि रहेको २० करोड इकाई आम सर्वसाधारणको लागि निष्काशन गरिएको छ।
यस निष्काशनमा लगानीकर्ताले छिटोमा भदौ १८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम ४ करोड इकाईको लागि दिन सकिने छ।









