विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ ६ गते आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा गोरखाका आयोजना प्रभावित स्थानिय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले गोरखा जिल्लाका स्थानीयलाई ९ लाख ९ हजार १ सय १ कित्ता शेयर निष्काशन गर्ने छ। जस मध्ये ४० प्रतिशत शेयर धार्चे गाउपालिकाका वडा नम्बर ४ र ५ का स्थानीयलाई छुट्याईएको छ भने बाँकि रहेको ६० प्रतिशत शेयर धार्चे गाउपालिकाका १,२,३,६, र ७ का स्थानीयलाई छुट्याईएको छ।
यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा जेठ २० गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असार ४ गतेसम्म आवेदन दिन सक्ने छन् ।
त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५४ हजार ५ सय ५० कित्ता शेयर निष्काशन गर्ने छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा जेठ २० गतेसम्म आवेदन दिन सकिने छ ।
नेपाल धितोपत्र बोर्डले वैशाख १६ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । कम्पनीले कुल ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५ सय ९६ कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४.५५ मेगावाको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुनबाट विद्युत उत्पादन गरिरहेको छ। हाल कम्पनीमा खग्रेन्द्र न्यौपानेको १४ प्रतिशत, कृष्ण प्रसाद घिमिरेको ८ प्रतिशत, सरोज धितालको ८ प्रतिशत, राजकुमार गुरुङको ७ प्रतिशत, इन्द्र बहादुर ढकालको ५ प्रतिशत, र सुनिल श्रेष्ठको ४ प्रतिशत शेयर स्वामित्व रहेको छ ।