ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज चैत्र ३ गते आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २७ गतेदेखि आम सर्वसाधारणलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको हो ।
यस आईपीओमा हिजो शनिवारसम्ममा माग भन्दा १३ गुणा बढीको आवेदन परिसकेको छ । हिजो शनिवार साँझ ५ बजेर ७ मिनेटमा कम्पनीको आईपीओमा १६ लाख १८ हजार ९ सय ७८ जना आवेदकले १ करोड ९६ लाख ४ सय ३० कित्ताको लागि आवेदन दिएका हुन् । यो माग गरिएको भन्दा १३.२७ गुणा बढी हो ।
यस आईपीओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफांड गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले माघ ३ गते कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो ।
यो ओम मेगाश्री औषधि उत्पादन गर्ने कम्पनी हो । यस कम्पनीमा गैरआवासीय नेपाली समेतको लगानी छ। झण्डै सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ । कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ हुन्।
यो पनि : ओम मेगाश्री आईपीओ रिभ्यु: कस्तो छ कम्पनी र वित्तीय विवरण?