नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा सुशील देव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको आज बसेको संचालक समितिको बैठकले पदपूर्ति समितिको सिफारिसमा सुवेदीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आजदेखि नै कार्यभार सम्हालेका छन्।
गत माघ २३ गते प्राधिकरणको पदपूर्ति समितिले कार्य सम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने आधारमा सुवेदीलाई कार्यकारी निर्देशकको पदमा बढुवा गर्न सञ्चालक समितिसमक्ष सिफारिस गरेको थियो। उनले ७७.१९४ प्राप्ताङ्क प्राप्त गरेका थिए।
गत वर्षको जेठ १२ गते कार्यकारी निर्देशक राजु रमण पौडेलको अनिवार्य अवकाशपछि उक्त पद रिक्त रहँदै आएको थियो । सुवेदीसँगै प्राधिकरणका निर्देशकहरू कमल प्रसाद रेग्मी र पूजन ढुंगेल पनि प्रतिस्पर्धामा रहेका थिए। प्राधिकरणको कार्यकारी निर्देशक कर्मचारीतर्फ सबैभन्दा उच्च पद हो ।