नेपाल बीमा प्राधिकरणमा १० जना कर्मचारीको बढुवा सिफारिस भएको छ । कार्यकारी निर्देशक, निर्देशक, उप निर्देशक र उप निर्देशक (कानुन) पदमा गरि कुल १० जनाको बढुवा सिफारिस भएको हो।
कार्यकारी निर्देशकमा सुवेदी सिफारिस
बीमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा सुशील देव सुवेदीको नाम सिफारिस गरिएको छ। गत माघ २३ गते प्राधिकरणको पदपूर्ति समितिले कार्य सम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने आधारमा सुवेदीलाई कार्यकारी निर्देशकको पदमा बढुवा गर्न सञ्चालक समितिसमक्ष सिफारिस गरेको हो। उनले ७७.१९४ प्राप्ताङ्क प्राप्त गरेका थिए।
गत वर्षको जेठ १२ गते कार्यकारी निर्देशक राजु रमण पौडेलको अनिवार्य अवकाशपछि उक्त पद रिक्त रहँदै आएको थियो । सुवेदीसँगै प्राधिकरणका निर्देशकहरू कमल प्रसाद रेग्मी र पूजन ढुंगेल पनि प्रतिस्पर्धामा रहेका थिए। प्राधिकरणको कार्यकारी निर्देशक कर्मचारीतर्फ सबैभन्दा उच्च पद हो ।
निर्देशकमा ४ जनाको बढुवा
प्राधिकरणले फागुन २ गते प्रशासन समूहको निर्देशक पदमा ४ जनाको बढुवा सिफारिस गरेको छ । प्राधिकरणको पदपूर्ति समितिले ४ जनालाई निर्देशकमा बढुवा गर्ने जनाएकोमा ९ जना सम्भाब्य उम्मेद्वार थिए । उम्मेदवारको कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमवापत प्राप्त गरेको कूल अङ्कको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ४ जनालाई निर्देशकमा बढुवा सिफारिस गरिएको हो ।
निर्देशक पदमा बढुवा सिफारिस हुनेमा ध्रुब तिमल्सिना, कुन्दन सापकोटा, शाम्भराज लामिछाने र निर्मल अधिकारी रहेका छन् । उनीहरुको प्राप्ताङ्क क्रमश ९१.४३८, ९१.१३८, ८५.९९०, र ८३.४९१ रहेको छ।
उप निर्देशकमा ५ जना बढुवा
प्राधिकरणको पदपूर्ति समितिले फागुन ३ गते उपनिर्देशकमा ५ जनालाई बढुवा गर्न सिफारिस गरेको छ। जस मध्ये ३ जना प्रशासन समूह र २ जना कानून समूहका छन् ।
प्रशासन समूहको उप निर्देशकमा बढुवाको लागि ७ जना सम्भाब्य उम्मेदवार थिए। कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमवापत प्राप्त गरेको कूल अङ्कको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ३ जनालाई उपनिर्देशक पदमा बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिस हुनेमा सम्भु प्रसाद मिश्र, जमुना अर्याल (आचार्य) र केदार नाथ भट्ट रहेका छन् । उनीहरुको प्राप्ताङ्क क्रमश ८२.३१५, ८१.४३५ र ८१.३७५ रहेको छ ।
त्यस्तै कानून समूहको उपनिर्देशकमा २ जना माग गरिएकोमा २ जना मात्र सम्भाब्य उम्मेदवार थिए । कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमवापत प्राप्त गरेको कूल अङ्कको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने २ जनालाई उप निर्देशक (कानून) मा बढुवा सिफारिस गरिएको हो । यस समूहमा बढुवा सिफारिस हुनेमा सविता थापा र रंजिता केसी रहेका छन् । उनीहरुको प्राप्ताङ्क क्रमश ८१.९७६ र ८१.९६६ रहेको छ।
यो पनि : बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि ५ जना सर्टलिस्ट, १० गते अन्तर्वार्ता