काठमाडौँको शुकेधारामा रहेको मर्क्यौर होटेलले आर्थिक वर्ष २०८२/८३ मा २६ करोड ८० लाख रुपैयाँ बराबरको संचालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा होटेलको संचालन आम्दानी १८८.१७ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८१/८२ मा होटेलको संचालन आम्दानी ९ करोड ३० लाख मात्र थियो ।
आर्थिक वर्ष २०८१/८२ मा होटेलको ब्याज, कर, ह्रास (मूल्य ह्रास) र परिशोधन अघिको आम्दानी (EBITDA) ऋणात्मक रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा EBITDA मार्जिन ६.६६ प्रतिशत कायम भएको छ । यो वर्ष होटेलको EBITDA करिब १ करोड ८० लाख रुपैयाँ रहेको छ । यो होटेल द मेट्रोपोलिटन होटेल लिमिटेडले संचालन गर्दै आएको छ । देशबन्धु बस्नेत कम्पनीका अध्यक्ष हुन् ।
रेटिङ कम्पनी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले हालै कम्पनीको दीर्घकालीन र अल्पकालीन ऋणको रेटिङ पुनः पुष्टि (reaffirmed) गरेको छ । दीर्घकालीन ऋणले IRN BB र अल्पकालीन ऋणले IRN A4 रेटिङ पाएको छ । कम्पनीले २ अर्ब २४ करोड ५३ लाख रुपैयाँ दीर्घकालीन ऋण र १ करोड रुपैयाँ अल्पकालीन ऋणका लागि रेटिङ गराएको हो । दीर्घकालीन ऋण सीमा पहिलेको १ अर्ब ८९ करोड ४० लाखबाट बढाइएको छ भने अल्पकालीन ऋण सीमा ८ करोड ५० लाखबाट घटाएर १ करोड पारिएको छ । कुल ऋण सुविधा २ अर्ब २५ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
होटेलले २०८१ मंसिरमा सफ्ट ओपनिङ गरेको थियो र जनवरी १५, २०२५ (माघ २, २०८१) देखि पूर्ण व्यावसायिक संचालनमा आएको हो । आर्थिक वर्ष २०८२/८३ यसको पहिलो पूर्ण वर्ष हो । यस अवधिमा औसत कोठा अकुपेन्सी (occupancy) २०८१/८२ को करिब १९ प्रतिशतबाट बढेर ४१ प्रतिशत पुगेको छ । कोठा बिक्रीबाट हुने आम्दानी ३ करोड ३० लाखबाट बढेर १३ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष केवल छ महिनाको संचालन थियो ।
कुल आम्दानीमध्ये कोठा संचालनको हिस्सा करिब ४९ प्रतिशत र खाद्य तथा पेय (F&B) सेवाको हिस्सा करिब ३७ प्रतिशत रहेको छ । जुन महिनामा मासिक अकुपेन्सी उच्चतम ६० प्रतिशत पुगेको छ ।
यो होटेल ५ तारे स्तरको हो र १०५ कोठा रहेको छ । यसको संशोधित कुल परियोजना लागत करिब ३ अर्ब २१ करोड ७० लाख रुपैयाँ छ । इन्फोमेरिक्सले बलियो प्रवर्द्धक समूह, शुकेधारा (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विश्व सम्पदा स्थलहरूको नजिक) को रणनीतिक अवस्थिति र एकोर (Accor) समूहको ‘मर्क्यौर’ ब्रान्डसँगको व्यवस्थापन सम्झौतालाई सबल पक्ष मानेको छ । नेपालको पर्यटन क्षेत्रको दीर्घकालीन सम्भावना पनि सकारात्मक पक्ष मानेको छ ।










