नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै बिजुली प्रयोग गर्न आग्रह गरेका छन् । पर्याप्त मात्रामा विद्युत् रहेको जनाउँदै उनले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्न आग्रह गरेका हुन् ।
उनले तिहारमा धेरै बिजुली प्रयो्ग गर्दा लोडसेडिङ हुन्छ कि भन्ने नसोच्न अनुरोध गर्दै कुनै प्राविधिक समस्या आएको अवस्थाबाहेक लक्ष्मी पूजाका दिनमा बत्ती नजाने बताए । कुलमानले तिहारका लागि स्वदेशमा खपत गर्न पुग्ने बिजुली आन्तरिक उत्पादनबाटै पुग्ने भएकाले आयात गर्नु नपर्ने पनि बताएका छन् ।
उनले असोजको बाढीले जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुगेको भएपनि तिहारका लागि पुग्ने विद्युत उत्पादन भइरहेको बताएका छन् ।
‘यो वर्ष वर्षाका कारण आएको बाढीपहिरोको कारणले जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुगेको छ, प्राधिकरण र निजी क्षेत्र दुवैमा क्षति पुगेको छ । तामाकोशी ४६५ मेगावट अहिले पनि आउट छ । प्रसारणलाइन बगाएको हुनाले काबेली करिडोरको २ सय मेगावटको आयोजनाहरु आउट छन् । करिब ७ सय मेगावटका जलविद्युत् प्रणाली भन्दा बाहिर छन्’ कुलमानले भने, ‘महिनादिन भन्दा बढी भयो उत्पादन भएको छैन । त्यसबाट राजश्व संकलनमा ठूलो घाटा भएको छ । मर्मतको लागि प्राधिकरणले ठूलो रकम खर्च गर्नुपर्ने अवस्था छ । यति हुँदा पनि हामीलाई पुग्ने विद्युत् उत्पादन छ ।’
उनले अहिले हजार १ सय मेगावट विद्युत् उत्पादन भएपनि घटेर १ हजार ९ सयमा झरेको बताए ।
‘करिब २ हजार १ सय मेगावाटको उत्पादन अहिले छ, तर त्यो घटेर १९ सय मेगावटमा झरेको छ । दैनिक रुपमा उत्पादन घट्दो क्रममा छ । तिहारको लागि हाम्रो उत्पादनले हामीलाई पुग्छ’ उनले थपे, ‘अहिले पनि हामीले निर्यात गरिरहेका छौँ । यो वर्ष धेरै निर्यात हुने सम्भावना घट्यो । १२ सय मेगावाट विद्युत् निर्यात हुने अवस्थामा पुग्दा ठूलो बाढीपहिरो गयो । तर यो वर्षको तिहारमा हामीलाई पुग्ने विद्युत् उत्पादन हुन्छ । तिहारको लागि विद्युत् आयात गर्नुपर्दैन । बढी पनि हुन्छ । कतै–कतै प्राविधिक समस्या भएर लाइन गयो भने मात्रै नत्र तिहारमा विद्युत् नपुगेर लाइन काट्नुपर्ने अवस्था छैन । तिहारमा विद्युत् जति प्रयोग गर्न सकिन्छ ।’