प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले अहिलेको सबैभन्दा उत्तम विकल्प हाइड्रोपावर नै रहेको बताएका छन् । अहिले उर्जामा इनर्जी मिक्सको कुरा आईरहेको बताउदै उनले हाइड्रोजन उर्जा, सोलार उर्जा भन्दा पनि अहिलेको अवस्थामा हाइड्रोपावर नै सबैभन्दा उत्तम विकल्प रहेको उनले बताए।
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको औपचारिक उद्घाटन कार्यक्रममा डा. खतिवडाले यस्तो बताएका हुन्। उनले हाइड्रोपावर कै विकासमा लाग्न पनि आग्रह गरे। डा. खतिवडाले अब सरकारको तर्फबाट २/३ वटा ठूला स्टोरेज आयोजना निर्माण गर्नु पर्ने र बाँकि सबै आयोजना निजी क्षेत्रलाई नै बनाउनु दिनु पर्ने बताए ।
हाइड्रोपावरको लागि रकम अभाव नहुने भन्दै उनले आफु राष्ट्र बैंकको गभर्नर हुँदा नै उर्जामा १० प्रतिशत लगानी अनिवार्य गरेको स्मरण गरे। सोहि कारण उर्जामा बैंकको अर्वौँको लगानी हुन सम्भव भएको उनले उल्लेख गरे ।
डा. खतिवडाले हाइड्रो व्यवसायीलाई इमान्दार भएर आफ्नो तर्फबाट हाल्नु पर्ने इक्विटी हाल्न आग्रह गरे। साथै बैंकलाई पनि डेट इक्विटी मिलाएर लान आग्रह गरे । उनले शेयर धितो राखेर ऋण दिई शेयर हाल्ने मोडललाई अघि बढाउनु पर्ने पनि उल्लेख गरे।
हाइड्रो व्यवसायीका राम्रो कामलाई सरकारले सहजीकरण गर्ने उनले बताए। पीपीए समयमा नहुने, ईआईए समयमा नहुने, आईपीओ समयमा नआउने लगायतका समस्याको समाधानको लागि सबै संयुक्त पहल गर्नु पर्ने उनले बताए। साथै उनले हाइड्रो व्यवसायीलाई गल्ति नगर्न आग्रह गर्दै इमान्दार भएर काम गर्नेको साथमा सरकार सधै रहने उल्लेख गरे।
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडद्वारा प्रवर्द्धन गरिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले गत कार्तिक २७ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको थियो। सो को औपचारिक उद्घाटन भने आज गरिएको हो।