निकट भविष्यमै नयाँ शैक्षिक शत्रको शुरुवात हुन लागेकोले अध्ययनका लागि क्यानडा आउने तयारी गरिरहेका नेपाली विद्यार्थीहरूलाई क्यानडाको ओटावा स्थित नेपाली राजदूतावाले १४ विषयमा ध्यान दिन आग्रह गरेको छ । विद्यार्थीहरूको क्यानडा बसाइ र अध्ययन सहज एवं समस्या रहित बनाउनका १४ विषयमा ध्यान दिन दुतावास आग्रह गरेको हो ।
यस्ता छन् १४ सुझाव :
१. विद्यार्थीहरूका लागि यस दूतावासबाट यस अघि २०८१ वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययन गरी क्यानडा आउने तयारी गर्न उचित हुन्छ । उक्त सूचना नेपाली राजदूतावासको वेवसाइट https://ca.nepalembassy.gov.np/, फेसबुक पेज Nepal Embassy, Ottawa र एक्स एकाउन्ट Embassy of Nepal, Canada (@nepal of) मा हेर्न सकिन्छ ।
२. आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको शहर आदि बारे पर्याप्त खोजी (Research) गरी बुझेर आउँदा यहाँ आइसकेपछि व्यहोर्नु पर्ने समस्या कम गर्न सकिन्छ । अवास्तविक, अपर्याप्त र अतिरंजित प्रचार प्रसारमा मात्र भर गरेर पूर्ण तयारी नगरी आउँदा विद्यार्थीहरूले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई राम्ररी ध्यान दिनुपर्छ ।
३. अध्ययनका लागि क्यानडा आउनु पूर्व क्यानडामा रहेका आफन्त, इष्टमित्र, साथीहरू, सिनियर वा पूर्व विद्यार्थीहरू, विद्यार्थीहरूका सोसल मिडिया नेटवर्क, सम्बन्धित शहरमा रहेका गैर आवासीय नेपाली संघ (NRN) लगायत नेपाली डायस्पोराका संघ-संस्थाहरुसंग समेत आफू आउन लागेको ठाउँ, पढाइको तौरतरिका, लाग्ने खर्च, आवासको उपलब्धता, रोजगारीका संभावना आदिवारे पर्याप्त मात्रामा बुझी जानकारी लिएर, तयारीका साथ आउँदा एकै चोटी व्यहोर्नुपर्ने समस्याहरू सामना गर्न सहज हुन्छ।
४. अभिभावकहरूले आफ्ना छोराछोरीको अध्ययन, आवास र बस्नेखाने खर्चको यथोचित प्रबन्ध गरेर मात्र पठाउनुपर्दछ। क्यानडा जानासाथ रोजगारी पाइन्छ भन्ने भ्रममा पर्दा धेरै विद्यार्थीहरू विगतमा समस्यामा परेको यथार्थता बुझी क्यानडा आउँदा अध्ययनका लागि कलेज वा विश्वविद्यालयको पढाइ शुल्क, बस्ने र खाने खर्चको आवश्यक प्रवन्ध गरेर मात्र आउनुपर्छ। त्यसो नगर्दा आइसकेपछि कलिला उमेरका विद्यार्थीहरूलाई एकैचोटी पर्न जाने आर्थिक, शैक्षिक, आवास, खाने खर्च र रोजगारी अभावको तनाव र चुनौतिका कारण विद्यार्थीमा पर्न सक्ने तनाव र मनोवैज्ञानिक समस्यातर्फ अभिभावक तथा विद्यार्थी दुवैले शुरुमै सावधानी अपनाउन उचित हुन्छ ।
५. विश्वभरीबाटै आउने विद्यार्थीहरूको संख्या बढेसंगै क्यानडाभरी विद्यार्थी आवास र रोजगारीका अवसरमा तिव्र चाप परेका कारण बस्ने डेरा र रोजगारीको अवसर पाउन कठिन भैरहेको देखिन्छ । यो यथार्थलाई बुझेर अध्ययनका लागि क्यानडा आउनु पूर्व बस्ने ठाउँको यकिन गरेर आउन उचित हुन्छ । सोसियल मिडियामा दिइएका विज्ञापनकै आधारमा आवासका लागि अग्रिम भाडा भुक्तानी गर्दा ठगीमा पर्न सक्ने सम्भावना बारे सचेत रहनुपर्छ।
६. क्यानडाको हावापानी शीत ऋतु (Winter ) मा अत्यन्तै चिसो हुने हुँदा सो ठाँउँको हावापानी बारे पूर्वजानकारी लिएर तयारी गर्नु उचित हुन्छ ।
७. भर्खर उमेरका कलिला युवा विद्यार्थीहरूले एक्कासी क्यानडा पुगेपछि अध्ययनका अतिरिक्त सबै कामहरू आफै गर्नुपर्ने जस्तै पकाउने, सरसफाई, किनमेल, परिवहन, बजार, आवतजावत आदिबारे स्थानीय तौरतरिकाबारे पूर्व जानकारी लिएर आउँदा अचानक आइपर्ने नयाँ परिस्थिति सामना गर्न सहज हुन्छ ।
दूतावासबाट यस अघि २०८१ वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना
१. विद्यार्थीहरूले क्यानडा आउनु अघि आफू पढ्ने कलेज / विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध र स्वास्थ्य बीमा आदिका बारेमा पूर्ण अध्ययन (Research) गरी जानकारी लिएर आवश्यक तयारी र सो को प्रबन्ध गरी आउनुपर्दछ । कलेज / विश्वविद्यालयको गुणस्तर र विश्वसनीयता यकीन गरेर मात्र शैक्षिक शुल्क तिर्नुपर्छ। डेरा खोज्दा पनि घरमालिकको तथ्य सूचना लिएर मात्र भाँडा रकम भुक्तानी गर्नुपर्दछ । सामाजिक संजालका विज्ञापनमा मात्र भर परी भुक्तानी गर्दा ठगीमा पर्न सकिन्छ ।
२. क्यानडामा अध्ययन गर्ने सोच भएमा धेरै सूचनाहरू सम्बन्धित वेवसाइटमा उपलब्ध हुन्छन् । पर्याप्त समय दिएर आफूले पढ्न चाहेको विधा, विषय, लिन चाहेको योग्यता, डिग्री, त्यसका लागि सबैभन्दा उपयुक्त कलेज/विश्वविद्यालय, ती कलेज/विश्वविद्यालयमा पाइने छात्रबृत्तिका अवसर र संभावना, लाग्ने शैक्षिक शुल्क, बस्नखान लाग्ने खर्च, हावापानी, आदिबारे विद्यार्थी स्वयं वा अभिभावकहरूले यथेष्ट खोजी गरी सुसूचित हुनुपर्दछ । केही विषयमा प्रष्ट हुन चाहेमा आफूले चिनेका, सम्पर्कमा रहेका क्यानडामा रहनुहुने इष्टमित्र, साथीभाई, क्यानडामा अध्ययनरत विद्यार्थीहरू, गैर आवासीय नेपाली संघ वा नेपाली समुदायका संघसंस्थाहरू, तिनका पदाधिकारीहरूसँग सम्पर्क गरी थप जानकारी लिन उचित हुन्छ।
३. अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र पठाउनुपर्दछ । पठाइसकेपछि उनीहरूसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के- कस्ता समस्याहरूसँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रुपले सहयोग गर्नुपर्दछ। क्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ।
४. शैक्षिक परामर्शदाता संस्थाहरू (Educational Consultancies) ले विद्यार्थीहरूको रुची अनुसारको रोजेको विषय पढ्न पाउने गरी गुणस्तरीय कलेज / विश्वविद्यालयको छनौट, पढाईमा दिनुपर्ने समय, कलेज र विश्वविद्यालयको लोकेसन, जीवनयापन खर्च, कामको अवसर, संभावना र चुनौति, कार्यघण्टा, थप अध्ययनका अवसर र संभावना एवं आवासीय अनुमति आदिबारे कानून सम्मत, तथ्यपूर्ण र यथार्थपरक सूचना र जानकारी विद्यार्थीहरू र तिनका अभिभावकहरूलाई दिनुपर्दछ । अपर्याप्त, अवास्तविक र यथार्थ भन्दा बाहिर बढाइ चढाइ गरी गरिएको प्रचार, प्रसार र सूचना प्रवाहबाट विद्यार्थीलाई पर्न सक्ने समस्याबारे हेक्का राख्नुपर्दछ ।
५. क्यानडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका समस्या र देशको शैक्षिक पूर्वाधार एवं आवास सुविधामा परेको चापलाई ध्यान दिँदै यसै वर्षको जनवरीमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू सम्बन्धी नयाँ नीति लिएको छ। जसमा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या दुई वर्षका लागि ३५ प्रतिशतले घटाउने नीति रहेको छ। त्यसबाहेक निजी – सार्वजनिक साझेदारीमा सञ्चालन भइरहेका कलेजमा भर्ना भएका स्नातक र सो भन्दा मुनीका तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आगामी सेप्टेम्बरबाट श्रम स्वीकृति / वर्क परमिट (PGWP) जारी नगर्ने नीति लिएको छ । अतः क्यानडामा अध्ययनका लागि आउन लाग्नु भएका विद्यार्थीरूले यी नीतिहरूलाई विशेष ध्यान दिन उचित हुनेछ ।
६. कार्यस्थलमा श्रम शोषण / दुर्व्यवहार / ठगीमा परेमा विद्यार्थीहरूले कार्यस्थलमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी कानूनी उपचार खोज्नुपर्दछ । विद्यार्थीहरूले आफ्नो कलेज वा काममा जाँदा/आउँदा, पैदल हिंड्दा वा सवारी चलाउँदा यहाँको ट्राफिक नियम राम्रोसंग पालना गर्नुपर्दछ । यहाँका सडकहरूमा अत्यन्त तीब्र गतिमा गाडीहरू चल्ने हुनाले नियम विपरित बाटो काट्दा दुर्घट्नाको जोखिम रहन्छ। ट्राफिक संकेतको पूर्ण पालना गरेर मात्र सवारी साधन चलाउने वा बाटो काट्नुपर्दछ ।
७. अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो कलेज / युनिभर्सिटीको अन्तर्राष्ट्रिय विद्यार्थी काउन्सिल, मेन्टल हेल्थ/करिअर काउन्सिल आदिमा सम्पर्क गरी विभिन्न सूचना तथा अवसरहरूबारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। त्यसैगरी आफूलाई कुनै समस्याहरू आइपरेमा नेपाली राजदूतावास, टोरन्टोस्थित नेपाली अवैतनिक महावाणिज्यदूत, गैर आवासीय नेपाली संघ क्यानडा एवं आ- आफ्नो क्षेत्रमा भएका नेपाली डायस्पोरा समुदायका संघसंस्थाहरू वा पदाधिकारीहरूलाई सम्पर्क गरी सल्लाह सुझाव वा सहयोग लिनुपर्दछ।