नेपालका लागि जेएसडब्लु एमजी गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले सहज स्वामित्व, पारदर्शी स्पेयर पाट्र्स मूल्य र भरपर्दो बिक्रीपछिको सेवाप्रति आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ । कम्पनीले यो पहल सरकारी मूल्य पारदर्शिता सप्ताहसँग समन्वय गर्दै सुरु गरेको बताएको छ, जसले सरकारको पारदर्शितासम्बन्धी अवधारणा र एमजीको खुला, स्पष्ट तथा सहज मोबिलिटीप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीले नेपालमा उपलब्ध एमजीका जेन्युइन स्पेयर पाट्र्सको मूल्य सूची सार्वजनिक गरेको छ । यसमार्फत गाडी स्वामित्वलाई अझ सहज, किफायती र पारदर्शी बनाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एमजीका जेन्युइन स्पेयर पाट्र्स प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुने भएकाले ग्राहकहरूले आफ्नो गाडीको मर्मत तथा व्यवस्थापन सहज र निर्धक्क रूपमा गर्न सक्नेछन् ।
एमजीका सबै स्पेयर पाट्र्स भारतस्थित आधिकारिक सप्लाई चेनमार्फत ल्याइने कम्पनीले जनाएको छ । यसले जेन्युइन गुणस्तर, छिटो उपलब्धता र किफायती मूल्य सुनिश्चित गर्ने विश्वास कम्पनीको छ । साथै ग्राहकलाई अझ बढी पारदर्शी जानकारी उपलब्ध गराउने उद्देश्यले कम्पनीले वार्षिक मर्मत खर्चसम्बन्धी विवरण पनि छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।
सहज स्वामित्व सुविधासँगै जी.ओ. अटोमोबाइल्सले नेपालमा एमजीको बिक्रीपछिको सेवा सञ्जाललाई पनि थप सुदृढ बनाउँदै लगेको जनाएको छ । कम्पनीले काठमाडौंबाट सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ भने ग्राहक सहयोगलाई आफ्नो मुख्य प्राथमिकतामध्ये एकका रूपमा अगाडि बढाएको जनाएको छ । यी पहलमार्फत जी.ओ. अटोमोबाइल्सले एमजी ग्राहकबीच दीर्घकालीन विश्वास र भरोसा निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ । कम्पनीका अनुसार भरपर्दो, पारदर्शी र ग्राहककेन्द्रित स्वामित्व अनुभव प्रदान गर्नु नै यसको मुख्य उद्देश्य हो ।














