गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका ज्ञानेन्द्र इवाहाङको नियुक्ति पनि खारेज भएको छ। निर्णय भएको ६ घण्टा पनि नबित्दै उनको नियुक्ति खारेज भएको हो ।
कम्पनीको चैत्र १० गते बिहान १०:३० बसेको संचालक समितिको बैठकले चैत्र ११ गतेदेखि लागु हुने गरि इवाहाङलाई सीइओ नियुक्ति गर्ने निर्णय गरेको थियो । तर राष्ट्र बैंकको निर्देशनपछि कम्पनीको सोहि दिन साँझ ४ बजे बसेको संचालक समितिको बैठकले इवाहाङको नियुक्ति खारेज गर्ने निर्णय गरेको हो। अर्थात् इवाहाङको नियुक्ति ६ घण्टा पनि टिकेन ।
कम्पनीका अनुसार कम्पनीमा नेपाल राष्ट्र बैंकले २०८१ पुस २४ देखि पुस २५ गतेसम्म स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणको क्रममा देखिएका कैफियतको आधारमा राष्ट्र बैंकले चैत्र १० गते पत्र पठाउदै प्रमुख कार्यकारी अधिकृत नियुक्ति सम्बन्धी हालसम्म भए गरेका सम्पूर्ण कार्यहरु रद्द गर्न निर्देशन दिएको हो । सोहि अनुसार इवाहाङको नियुक्ति ६ घण्टा पनि नबित्दै खारेज भएको हो ।
यस अघि कम्पनीमा नियुक्त गरेका सीइओको नियुक्ति पनि खारेज भईसकेको छ । कम्पनीको २०८१ पुस १४ गते बसेको संचालक समितिको बैठकले २०८१ पुस १८ गतेबाट लागु हुने गरि प्रकाश चन्द्र अधिकारीलाई ४ वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको थियो । तर त्यस विरुद्द केही शेयरधनीले राष्ट्र बैंकमा उजुरी दिएका थिए। उजुरीपछि राष्ट्र बैंकले सीइओ नियुक्तिसँग सम्बन्धित फाइलहरुको अध्ययन समेत गरेको थियो ।
सीइओ नियुक्त भएका अधिकारीले नै आफुलाई नियुक्ति गर्दा संचालक समितिको सर्वसम्मतबाट निर्णय नभएकोले संस्थामा प्रमुख कार्यकारी अधिकृत भई कार्य गर्न असमर्थता व्यक्त गर्दै पत्र पठाएका थिए। त्यसपछि कम्पनीको २०८१ चैत्र ६ गते बेलुका ४ बजे बसेको ५१० औं बैठकले निजको नियुक्तिलाई खारेज गर्ने निर्णय गरेको थियो। यस पछि नियुक्ति भएका इवाहाङको नियुक्ति पनि खारेज भएको हो ।
यस संगै कम्पनीमा संस्थापक संचालक र सर्वसाधारण समूहका संचालक बीच देखिएको विवाद सतह मै आएको छ ।