गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति खारेज भएको छ । कम्पनीको २०८१ पुस १४ गते बसेको संचालक समितिको बैठकले २०८१ पुस १८ गतेबाट लागु हुने गरि अधिकारीलाई ४ वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको थियो ।
तर त्यस विरुद्द केही शेयरधनीले राष्ट्र बैंकमा उजुरी दिएका थिए। उजुरीपछि राष्ट्र बैंकले सीइओ नियुक्तिसँग सम्बन्धित फाइलहरुको अध्ययन समेत गरेको थियो ।
सीइओ नियुक्त भएका अधिकारीले नै आफुलाई नियुक्ति गर्दा संचालक समितिको सर्वसम्मतबाट निर्णय नभएकोले संस्थामा प्रमुख कार्यकारी अधिकृत भई कार्य गर्न असमर्थता व्यक्त गर्दै पत्र पठाएको कम्पनीले जनाएको छ । त्यसपछि कम्पनीको २०८१ चैत्र ६ गते बेलुका ४ बजे बसेको ५१० औं बैठकले निजको नियुक्तिलाई खारेज गर्ने निर्णय गरेको हो ।
कम्पनीमा संस्थापक समूहका संचालक र सर्वसाधारण समूहका संचालकबीच सीइओ नियुक्तिलाई लिएर केही विवाद देखिएको स्रोतको दाबी छ। अहिले भने संचालक समितिले नियुक्ति नै खारेज गरेको हो ।