स्ट्याण्डर्ड चार्टर्ड बैंकले पहिलो पटक नेपाली नागरिकलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। बैंकको सोमबार बसेको संचालक समितिको बैठकले गोरख राणालाई बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका अनुसार उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गरिएको हो । उनले सन् २०२५ को जनवरी १ तारिखबाट कार्यभार सम्हाल्ने बैंकले जनाएको छ।
हाल उनी बैंक मै डेपुटी सीइओ छन् । उनीसँग ३० वर्षको बैंकिंग अनुभव रहेको छ। सन् १९९४ को डिसेम्बरमा उनले तत्कालीन नेपाल ग्रिन्डलेज बैंकबाट आफ्नो बैंकिंग करियर सुरु गरेका थिए । सो बैंकमा उनले ८ वर्ष काम गरे । त्यसपछि सन् २००३ मा स्ट्याण्डर्ड चार्टर्ड बैंक प्रवेश गरेका उनले बैंकमा २१ वर्ष १० महिना बिईसकेका छन् ।
यस अघि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा भारतबाट नै सीइओ आउने गरेकोमा बैंकले पहिलो पटक नेपाली नागरिकलाई सीइओ बनाएको हो ।