सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (MAN) बीच नेपालमा व्यवस्थापन संकाय अन्तर्गत एम.बि. ए. मा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले “MAN-Citizens Aspiring Manager Award” को स्थापना गर्ने सहमति भएको छ ।
आज MAN को कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र MAN का अध्यक्ष मोहन राज ओझा हस्ताक्षर गरेका छन्। यो पुरस्कार पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एम.बि.ए. मा उत्कृष्टता प्रदर्शन गरेका प्रतिभाशाली विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिने छ । पुरस्कारको रकम रु ५१,००० (एकाउन्न हजार रुपैयाँ) हुनेछ ।
सहमति अनुसार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस पुरस्कारको प्रायोजक हुनेछ र वार्षिक रूपमा पुरस्कारको लागि आवश्यक रकम उपलब्ध गराउने छ । सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालका पदाधिकारीको समिति गठन गरि उत्कृष्ट विद्यार्थीको चयन गरिनेछ र पुरस्कार हरेक वर्ष माघ महिनामा MAN को म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिने छ । बैंकको यो कार्यले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा योगदान पुर्याउने विश्वास बैंकले लिएको छ ।
बैंकले ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।