नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता सम्बन्धि पुस्तक सार्वजनिक गरेको छ। ग्लोबल मनि विकको अवसरमा आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्वय लगायतले पुस्तक सार्वजनिक गरेका हुन् ।
राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले तयार पारेको यो पुस्तकको नाम ‘वित्तीय साक्षरता , आधारभूत अवधारणा’ राखिएको छ। पुस्तकमा आवश्यकता र चाहना, पारिवारिक बजेट, बचत, लगानी, वित्तीय लक्ष्य,
कर्जा, ब्याज, वित्तीय अनुशासन, वित्तीय सेवा प्रदायक, नेपाल राष्ट्र बैंक, पुँजी बजार, बिमा, सहकारी, कर्जा सूचना, विप्रेषण (रेमिट्यान्स), विद्युतीय वित्तीय सेवा, विद्युतीय वित्तीय ठगी र गुनासो व्यवस्थापन गरि १८ वटा विषयसूची समावेश छन् । उक्त पुस्तकको डिजिटल प्रति राष्ट्र बैंकको वेबसाइटमापनि उपलब्ध छ ।
बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ‘ग्लोबल मनी विक (Global Money Week-GMW)’ विश्वभर मनाउने गरिएको छ । यसै सन्दर्भमा मार्च १७ देखि २३ ( २०८१ चैत ४ देखि १० ) सम्म ‘Think before you follow, wise money tomorrow’ भन्ने नाराका साथ Global Money Week को १३ औं शृङ्खला मनाउन लागिएको हो । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका छ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।
नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजक (National Coordinator) को भूमिका निर्वाह गर्दै Global Money Week मनाइदै छ । यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाहरूको सक्रिय सहभागिता रहन्छ।