पछिल्लो समय लघुवित्तहरुमाथि आक्रमण बढेपछि बैंक तथा वित्तीय संस्थाका ४ वटा संघहरुले खेद प्रकट गरेका छन् । नेपाल बैंकर्स संघ , डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ, र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा खेद प्रकट गर्दै निर्वाध रुपमा सेवा प्रवाह गराउने वातावरण बनाउन आग्रह गरेका हुन् ।
विभिन्न लघुवित्त संस्थाहरुका केही शाखाहरुमा तोडफोड, लुटपाट, आगजनी लगायतका निन्दनीय कार्यहरु भएको संघहरुले जनाएका छन्। संघहरुका अनुसार विभिन्न जिल्लामा सेवा प्रदान गरिरहेका ९ वटा लघुवित्त वित्तीय संस्थाका १७ वटा शाखा कार्यालयका साइनबोर्ड, ल्यापटप, कागजपत्र जफत गरी तोडफोड गर्ने, आगजनी गर्ने, नहरमा लगेर नष्ट गर्ने जस्ता अराजक गतिविधिहरु अघि बढाएर लघुवित्त क्षेत्रलाई अझ अन्यौलता तर्फ धकेल्ने र कार्यक्रम सञ्चालनमा अवरोध पुयाउने जस्ता कृयाकलाप भएका छन् । यसबाट लघुवित्त क्षेत्रमा पुनः ठूलो जोखिम उत्पन्न भई ग्रामीण अर्थतन्त्र धराशायी हुने र समग्र बैंकिङ्ग क्षेत्र तथा वित्तीय प्रणालीमा नै असर पुग्ने देखिएको तर्फ संघहरुले चिन्ता व्यक्त गरेका छन् ।
यस्ता अराजक गतिविधिहरुमा संलग्न व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याई कानून वमोजिम कारवाही गर्न तथा अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइदिन स्थानीय प्रशासन लगायत सम्बन्धित सबै निकायहरुबाट आवश्यक सहयोग र सुरक्षाको प्रत्याभूतिको लागि संघहरुले अनुरोध गरेका छन्। साथै, बैंक तथा वित्तीय संस्थामा आवद्ध कर्मचारीहरु बिचलित नभई निरन्तर आफ्नो कर्तव्यमा उच्च मनोबलका साथ आ-आफ्नो कार्यमा लागि पर्न पनि संघहरुले अनुरोध गरेका छन्।
यस्तो छ ४ वटा संघको संयुक्त विज्ञप्ति :
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र लिइ ऐन, नियम, कानून र नेपाल राष्ट्र बैंकको निर्देशनको परिधि भित्र रही पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुले छरिएर रहेको रकमलाई संकलन गरी देशको विभिन्न ठाउँमा रहेका व्यवसायी, उद्योगी र दुर्गम क्षेत्रमा समेत सरल र सहज तरिकाले वित्तीय सेवा प्रदान गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुयाउदै आइरहेका छन् ।
विगत केही समयदेखी केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध अनर्गल प्रचार गर्ने, ती संस्थाहरुका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरुलाई तर्साउने तथा धम्क्याउने काममा अवरोध पुयाउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको हामीले पाएका छौं । विशेष गरी लघुवित्त वित्तीय संस्थाहरुलाई त्यस्ता अराजक व्यक्ति तथा समूहहरुले थप लक्षित गरेको देखिएको छ । पछिल्लो समय यता विभिन्न लघुवित्त संस्थाहरुका केही शाखाहरुमा तोडफोड, लुटपाट, आगजनी लगायतका निन्दनीय कार्यहरु भएको छ ।
लघुवित्त क्षेत्रलाई अझ व्यवस्थित गर्नका लागि नेपाल सरकारबाट गठित कार्यदलमा लघुवित्त विरुद्धको संघर्ष समितिको तर्फबाट समेत प्राप्त सुझाव अनुसार नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट आवश्यक कदमहरु चालिरहेको वर्तमान स्थितिमा पनि कथित लघुवित्त विरुद्ध संघर्ष समितिको नामबाट पुनः मिति २०६१/०५/११ का दिन तथा त्यस पछिका दिनहरुमा विभिन्न जिल्लामा सेवा प्रदान गरिरहेका ९ वटा लघुवित्त वित्तीय संस्थाका १७ वटा शाखा कार्यालयका साइनबोर्ड, ल्यापटप, कागजपत्र जफत गरी तोडफोड गर्ने, आगजनी गर्ने, नहरमा लगेर नष्ट गर्ने जस्ता अराजक गतिविधिहरु अघि बढाएर लघुवित्त क्षेत्रलाई अझ अन्यौलता तर्फ धकेल्ने र कार्यक्रम सञ्चालनमा अवरोध पुयाउने जस्ता कृयाकलापबाट लघुवित्त क्षेत्रमा पुनः ठूलो जोखिम उत्पन्न भई ग्रामीण अर्थतन्त्र धराशायी हुने र समग्र बैंकिङ्ग क्षेत्र तथा वित्तीय प्रणालीमा नै असर पुग्ने देखिएको छ ।
प्रचलित ऐन, नियम, कानून बमोजिम स्थापित संस्थाहरुले कानून बमोजिम सहज रुपमा कारोवार गर्ने अधिकारवाट बञ्चित हुन पुगेकोमा हामी खेद प्रकट गर्दछौं । नेपाल सरकारका सम्बन्धित निकायहरु, खास गरी नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा गृह मन्त्रालयसंग नेपाल लघुवित्त बैंकर्स संघको प्रतिनिधि मण्डलको भेटघाट पश्चात प्राप्त सकारात्मक आश्वासन प्रति विश्वस्त रहि यस्ता अराजक गतिविधिहरुमा संलग्न व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याई कानून वमोजिम कारवाही गर्न तथा अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइदिन स्थानीय प्रशासन लगायत सम्बन्धित सबै निकायहरुबाट आवश्यक सहयोग र सुरक्षाको प्रत्याभूतिको लागि हार्दिक अनुरोध गर्दछौं । साथै, बैंक तथा वित्तीय संस्थामा आवद्ध कर्मचारीहरु बिचलित नभई निरन्तर आफ्नो कर्तव्यमा उच्च मनोबलका साथ आ-आफ्नो कार्यमा लागि पर्न हार्दिक अनुरोध गर्दछौं ।
ग्राहक र बैंक तथा वित्तीय संस्था विचमा सुमधुर सम्बन्ध कायम गर्न दृढ रही, ग्राहकको हित संरक्षणलाई सदैव मुख्य प्राथमिकतामा राखी यस्ता किसिमका घटनाहरुबाट कत्ति पनि विचलित नभई आगामी दिनमा निरन्तर रुपमा ग्राहकलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गर्न हामी पूर्णरुपमा प्रतिवद्ध रहेको समेत सम्बन्धित सबैमा जानकारी गर्दछौं ।