समिट इनर्जी सोलुसनले ४४ मेगावाट क्षमताको बकानखोला जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ। कम्पनीले विद्युत उत्पादन अनुमति माग गर्दै विद्युत विकास विभागमा आवेदन दिएको हो ।
विभागले प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा ३५ दिनभित्र विद्युत विकास विभाग वा कम्पनीको कार्यालयमा आफ्नो लिखित राय प्रतिक्रिया दिन अनुरोध गर्दै आज कार्तिक १४ गते सार्वजनिक सूचना जारी गरेको हो ।
कोशी प्रदेश सङ्खुवासभा जिल्ला भोटखोला गाउँपालिकामा अवस्थित बकानखोलाको पानीलाई उपयोग गर्दै बन्ने यो आयोजना अर्धजलाशयमा आधारित (Peaking Run of River Type) आयोजना हो । यस आयोजनाबाट वार्षिक सरदर
२५७.६७ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । आयोजनालाई आवश्यक पर्ने पानी लिनका लागि बकानखोलामा १५ मि. लम्बाइ, ३.४ मि. उचाइको Boulder with concrete core weir बाँध रहनेछ । सो बाँधको crest elevation समुद्री सतहबाट २८४२.४० मि. उचाइमा रहनेछ ।
आयोजना अर्धजलाशयमा आधारित (Peaking Run of the River) प्रकारको प्रस्तावित ४४ मेगावाट क्षमताको र डिजाइन डिस्चार्ज ५.१५ घन मिटर प्रति सेकेन्डको रहेको छ। ३.४ मिटर अग्लो बाँध बकानखोला र पिलिन खोलाको दोभानबाट करिब १०० मिटर तल भोटखोला गाउँपालिका वडा नं. २ को बकान-पिलिन दोभान नजिकै अवस्थित रहनेछ ।
खोलाको बायाँ किनारमा बाँधसँग रहेको पानीको प्रवेश मार्गले पानी थिगार्ने पोखरी (Settling basin) मा पानी प्रवाह गर्नेछ र त्यस पानीलाई २१ घण्टा क्षमताको पोखरी हुँदै ५०३ मिटर लामो हेडरेस पाइप, ३११४ मिटर लामो सुरुङ, ४४ मिटर उचाइको Surge Shaft, ६७१.६२ मिटर लामो पेनस्टक पाइप, १५१७.७३ मिटर लामो भर्टिकल साफ्ट तथा होरिजेन्टल साफ्टबाट अरुण नदी र बकानखोलाको दोभानबाट करिब १०० मिटर माथि बकान खोलाको दाहिने किनारमा रहेको सतहमा रहने विद्युत गृहमा लगिनेछ । आयोजनाबाट उत्पादित विद्युतलाई ३.५ कि.मि. २२० के.भी. सिङ्गल सर्किट प्रसारण लाइनबाट छुजुङ्ग खोला जलविद्युत आयोजनाको स्विचयार्डमा जोडिनेछ। त्यसपछि ५५ कि.मि. लामो २२० के.भी. डबल सर्किट प्रसारण लाइनबाट संयुक्त रूपमा शीतलपाटी सबस्टेसनमा लगिनेछ ।
आयोजनाको बाँधभन्दा तल तथा विद्युत गृहभन्दा माथिको खण्डमा पाइने जीवजन्तु, जलचर तथा बोट बिरुवाका लागि आवश्यक पर्ने न्यूनतम पानी नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदनमा उल्लेख गरिए बमोजिम अविच्छिन्न रूपमा तल्लो तटीय क्षेत्रमा छाड्न कम्पनीले प्रस्ताव गरेको छ। यो आयोजना सन् २०२९ को नोभेम्बर ५ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
समिट इनर्जी सोलुसन प्रालिका अध्यक्ष भोज बहादुर शाह हुन् । कम्पनीका अन्य संचालकमा तुलसीराम पोखरेल, शालिकराम वेलवासे, भक्त राजभण्डारी, र पुरण सिलवाल रहेका छन् । जस मध्ये शालिकराम वेलवासे कार्यकारी निर्देशक हुन्।











